कथा

कथाको शिर्षक :- चलन कुनै ब्यारेकमा २ वटा सैनिकले एउटा खाली बेञ्चको पहरेदारी गरेको देखेर नयाँ कमाण्डर छक्क पर्यो। एउटा मामुली बेञ्चको लागि किन पहरा बस्नुपरेको होला भनेर उसले अचम्म मान्दै यसको कारण सोध्यो । तर ब्यारेकमा भएका नयाँ पुराना अधिकृत सिपाही कसैले बताउन सकेनन् । निकै खुल्दुली लागेर उसले आफू अघिका सिनियर कमाण्डरहरू एकपछि अर्कोलाई सोध्दै गयो । ती कसैले पनि कारण आफूलाई थाह नभएको तर अघिदेखि त्यसरी नै खटाउने गरेको हुनाले आफूले पनि त्यसै बमोजिम गार्ड खटाएको बताए । झन् खसखस लागेकोले उसले थप सोध्दै खोज्दैगयो । बुझ्दै जाँदा अन्तिममा ४० वर्षअघि रिटायर्ड भएको र हाल ९० वर्ष पुगिसकेको धेरै पुरानो कमाण्डरलाई मात्र यो कुरा थाह रहेछ । पहिले त उ अझै पनि त्यस बेञ्चको निरन्तर पहरा हुँदै आएको सुनेर निकै हैरान भयो अनि एकछिन मज्जासङ्ग हाँस्यो र भन्यो - मैले त त्यसमा लगाएको रङ् कसैले नबिगारोस् भनेर २ दिनका लागि मात्र गार्ड तोकेको थिएँ । के त्यो बेञ्चमा उ बेला लगाएको रङ् अझै सुकेको रहेन छ ?
Back